विज्ञानका कुरा सर्वसाधारणसम्म किन पुग्दैनन्?

काठमाडौं, ९ मंसिर। विश्व विज्ञान दिवसका अवसरमा काठमाडौंमा विज्ञान पत्रकारिता, वैज्ञानिक अनुसन्धान र वातावरणीय समस्यासम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा एस्ट्रोनोमी ओलम्पियाडमा पदक जितेका छ विद्यार्थीलाई सम्मान गर्नुका साथै विज्ञानसम्बन्धी प्रदर्शनी, कार्यपत्र प्रस्तुति र छलफल गरिएको थियो।
नेपाल–रसिया विज्ञान तथा प्रविधि समाज (NRSTS), नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO) र काठमाडौंस्थित रसियन हाउसको सहकार्यमा मंगलबार आयोजित कार्यक्रममा वैज्ञानिक, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थी सहभागी थिए।
कार्यक्रममा वैज्ञानिक अनुसन्धान र नयाँ प्रविधिबारे जानकारी सर्वसाधारणले बुझ्ने भाषामा पुर्याउनुपर्नेमा जोड दिइएको थियो। वक्ताहरूले अनुसन्धानका निष्कर्ष विश्वविद्यालय र अनुसन्धानकर्तामा मात्रै सीमित नराखी सञ्चारमाध्यममार्फत आम नागरिकसम्म पुर्याउन आवश्यक रहेको बताए।

विज्ञान पत्रकारिता सुधार्न जोड
कार्यक्रममा ‘विज्ञान सञ्चार : ज्ञान र संवादमार्फत सम्बन्ध निर्माण’ विषयमा प्यानल छलफल भएको थियो। छलफलमा वैज्ञानिक तथा सञ्चार क्षेत्रका विज्ञहरूले नेपालमा विज्ञान पत्रकारिताको अवस्था र सुधारका उपायबारे धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं नेपाल न्यूज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार धर्मेन्द्र झाले नेपालमा विज्ञान पत्रकारिताको अवस्था कमजोर रहेको बताए। उनका अनुसार विज्ञान तथा प्रविधिका विषय जटिल र प्राविधिक भाषामा प्रस्तुत हुँदा सर्वसाधारणलाई बुझ्न कठिन भइरहेको छ। उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त ज्ञानलाई सरल भाषामा नागरिकसम्म पुर्याउन वैज्ञानिक, अनुसन्धानकर्ता र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको औँल्याए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपालले वैज्ञानिक र पत्रकारबीच नियमित समन्वय तथा प्रभावकारी सञ्चार प्रणाली विकास गर्नुपर्ने बताए। उनले विज्ञानले अनुसन्धानमार्फत तथ्य पत्ता लगाएजस्तै पत्रकारिताले समाजका वास्तविक विषय उजागर गर्ने उल्लेख गरे। पत्रकारितामा रहेका केही कमजोरीका आधारमा समग्र क्षेत्रको मूल्याङ्कन गर्न नहुने भन्दै उनले इमानदार र व्यावसायिक पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने धारणा पनि राखे।
वैज्ञानिक तथा अनुसन्धानकर्ता डा. बबिता पौडेलले विश्वविद्यालय तहबाटै विज्ञान पत्रकारिताको अध्ययन–अध्यापन सुरु गर्नुपर्ने बताइन्। वैज्ञानिक अनुसन्धानलाई अनुसन्धानकर्ताको घेराभित्र सीमित नराखी समाजसम्म पुर्याउनुपर्ने उनको भनाइ थियो।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रमेश कुमार मास्केले वैज्ञानिक अध्ययनका निष्कर्ष नीति निर्माणमा उपयोगी हुने बताए। अनुसन्धान प्रतिवेदनहरू समाचारका महत्त्वपूर्ण स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले विज्ञान र समाजलाई जोड्न विद्यार्थीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने धारणा राखे।
वक्ताहरूले विज्ञान सञ्चारलाई प्रभावकारी बनाउन वैज्ञानिकहरूले अनुसन्धानका निष्कर्ष सञ्चारमाध्यमसम्म पुर्याउने र पत्रकारहरूले वैज्ञानिक तथ्यको अर्थ नबिगारी सरल भाषामा प्रस्तुत गर्ने अभ्यास बढाउनुपर्नेमा जोड दिएका थिए।

एस्ट्रोनोमी ओलम्पियाडका छ विद्यार्थी सम्मानित
कार्यक्रममा एस्ट्रोनोमी ओलम्पियाडमा पदक जितेका छ विद्यार्थीलाई सम्मान गरिएको थियो। उनीहरूलाई अन्तर्राष्ट्रिय खगोलीय संघ (IAU) का सदस्य प्राध्यापक डा. उदयराज खनाल, प्राध्यापक डा. सीताराम व्याहुत, काठमाडौंस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले प्रदान गरेका थिए।
खनाल र व्याहुत नेपालमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाड–जुनियर (IOAA-Jr 2026) को शैक्षिक समितिका सहअध्यक्षसमेत हुन्।
यस अवसरमा एस्ट्रोनोमी ओलम्पियाडसम्बन्धी फोटो प्रदर्शनी उद्घाटन गरिएको थियो। विद्यार्थीहरूले तयार पारेका विज्ञानसम्बन्धी सामग्री पनि प्रदर्शन गरिएको थियो।
विज्ञान पत्रकारिता र प्लास्टिक रिसाइक्लिङबारे कार्यपत्र
कार्यक्रमको अर्को सत्रमा विज्ञान पत्रकारिता र वातावरणीय समस्यासम्बन्धी दुई कार्यपत्र प्रस्तुत गरिएको थियो। नेपाल विज्ञान पत्रकार मञ्चका उपाध्यक्ष रोशन श्रेष्ठले ‘नेपाली सञ्चारमाध्यममा विज्ञान पत्रकारिता : प्राथमिकता, अभ्यास र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
त्यस्तै, सेन्टर फर इनर्जी एन्ड इन्भाइरोन्मेन्ट नेपालका डा. रमेशमान सिंहले प्लास्टिक, दिगो विकास, वातावरणीय समस्या र थर्मल रिसाइक्लिङमार्फत तिनको समाधानका उपायबारे कार्यपत्र प्रस्तुत गरे। थर्मल रिसाइक्लिङमा ताप प्रयोग गरेर प्लास्टिकजस्ता सामग्री प्रशोधन गरिन्छ। यस्तो प्रविधिको वातावरणीय उपयोगिता त्यसको प्रक्रिया र प्रदूषण नियन्त्रणमा निर्भर हुन्छ।
नेपाल–रसिया विज्ञान तथा प्रविधि समाजका अध्यक्ष गणेश शाह र त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डा. अञ्जना सिंहले वैज्ञानिक अनुसन्धान, सञ्चारमाध्यम र विद्यार्थीबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।
Views 218
Keywords विश्व विज्ञान दिवस २०२६, नेपालमा विश्व विज्ञान दिवस, विज्ञान पत्रकारिता, नेपालमा विज्ञान सञ्चार, वैज्ञानिक अनुसन्धान, एस्ट्रोनोमी ओलम्पियाड, नेपाली विद्यार्थी सम्मानित, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल–रसिया विज्ञान तथा प्रविधि समाज, विज्ञान प्रदर्शनी, प्लास्टिक रिसाइक्लिङ, World Science Day 2026, Science Journalism Nepal, Science Communication, Astronomy Olympiad Nepal, NASO Nepal, NRSTS, Dark Sky Nepal
More News

पहिलो विदेशी अन्तरिक्षयात्री बोकेको चिनियाँ यान स्पेस स्टेसनमा पुग्यो
काठमाडौं, ९ मंसिर। पाकिस्तानका मुहम्मद जिसान अलीसहित तीन अन्तरिक्षयात्री बोकेको चीनको सेनझोउ–२४ (Shenzhou-24) अन्तरिक्षयान ब…

चीनको स्पेस स्टेसन विदेशीलाई खुला, बुधबार पाकिस्तानी अन्तरिक्षयात्री जाने
काठमाडौं, ८ मंसिर। चीनले पहिलोपटक आफ्नो अन्तरिक्ष स्टेसनमा विदेशी अन्तरिक्षयात्री पठाउने भएको छ। बुधबार प्रक्षेपण हुने सेनझोउ…

मंगलबार नेपालको आकाशमा सुपरमुन
काठमाडौं, ७ मंसिर। मंगलबार, ८ मंसिरमा नेपालको आकाशमा सुपरमुन (Supermoon) देखिने छ। चन्द्रमा पृथ्वीको तुलनात्मक रूपमा नजिक रहे…

मंगलमा नासाका दुई यानमा समस्या, वैज्ञानिक अध्ययन रोकियो
मंगल ग्रहमा वैज्ञानिक अध्ययन गर्दै आएका दुई वटा स्पेशक्राफ्टमा समस्या देखिएको छ। पर्सिभरेन्स रोभरका दुईवटै रेडियोमा समस्या दे…


Comments (0)
No comments yet. Be the first to join the discussion.
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.