मंगलमा नासाका दुई यानमा समस्या, वैज्ञानिक अध्ययन रोकियो

मंगल ग्रहमा वैज्ञानिक अध्ययन गर्दै आएका दुई वटा स्पेशक्राफ्टमा समस्या देखिएको छ। पर्सिभरेन्स रोभरका दुईवटै रेडियोमा समस्या देखिएको छ भने ग्रहको परिक्रमा गरिरहेको २५ वर्ष पुरानो ओडिसी अन्तरिक्षयानको दिशा नियन्त्रण गर्ने उपकरण बिग्रिएको छ। दुवै यान पृथ्वीको सम्पर्कमा रहे पनि वैज्ञानिक अध्ययन कहिले पुनः सुरु हुन्छ भन्ने निश्चित छैन।
काठमाडौं, ७ मंसिर। मंगल ग्रहको अध्ययनमा खटिएका अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (NASA) का दुई यानमा फरक–फरक प्राविधिक समस्या देखिएको छ। एउटा यानले पृथ्वीमा ठूलो मात्रामा डेटा पठाउन सकेको छैन भने अर्कोलाई आफ्नो दिशा नियन्त्रण गर्न कठिनाइ भएको छ।
मंगलको सतहमा रहेको पर्सिभरेन्स (Perseverance) रोभर र ग्रहको अर्बिटमा रहेको मार्स ओडिसी (Mars Odyssey) अन्तरिक्षयानमा समस्या देखिएपछि नासाले दुवैको वैज्ञानिक अध्ययन अस्थायी रूपमा रोकेको हो। नोभेम्बर १९ मा नासाले सार्वजनिक गरेको जानकारीअनुसार दुवै यान सुरक्षित छन् र पृथ्वीसँग सम्पर्क पनि कायम छ।
पर्सिभरेन्सका दुवै रेडियोमा समस्या
अक्टोबर ३० मा पर्सिभरेन्सको मुख्य यूएचएफ (UHF) रेडियोले नियमित रूपमा पठाउनुपर्ने ‘हार्टबिट’ (Heartbeat) संकेत पठाउन छाड्यो।
यो संकेतलाई मानिसको मुटुको धड्कनसँग तुलना गर्न सकिन्छ। रेडियोले निश्चित समयको अन्तरालमा पठाउने यस संकेतबाट कम्प्युटरले उपकरण ठीकसँग चलिरहेको जानकारी पाउँछ।

लगातार २५ पटक अर्थात् करिब १०० सेकेन्डसम्म संकेत नआएपछि रोभरले मुख्य रेडियो बन्द गरी ब्याकअप रेडियो चलायो साथै अनावश्यक उपकरण बन्द गरेर आफूलाई सुरक्षित अवस्था अर्थात् सेफ मोड (Safe Mode) मा पुर्यायो।
तर जाँच गर्दा ब्याकअप रेडियोले पनि अपेक्षित क्षमताको करिब आधा शक्तिमा मात्रै संकेत पठाइरहेको भेटियो। समस्या पत्ता नलागेसम्म नासाले दुवै रेडियोको प्रयोग रोकेको छ।
पर्सिभरेन्सले पृथ्वीसँग सम्पर्क भने गुमाएको छैन। अहिले यसले एक्स-ब्यान्ड (X-band) एन्टेनामार्फत सीधै सम्पर्क गरिरहेको छ। तर यसबाट सीमित मात्रामा डेटा पठाउन सकिने भएकाले नासाले उपलब्ध सञ्चार क्षमता खराबी पत्ता लगाउने काममा केन्द्रित गरेको छ।
यसका लागि रोभरका क्यामेरा र अन्य वैज्ञानिक उपकरणको सञ्चालन रोकिएको छ। नासाले नोभेम्बरको अन्त्यसम्म अध्ययन पुनः सुरु गर्ने आशा गरेको छ।
सन् २०२१ मा मंगलमा अवतरण गरेको पर्सिभरेन्सले त्यहाँको चट्टान र भूगर्भीय इतिहास अध्ययन गर्नुका साथै प्राचीन सूक्ष्म जीवको अस्तित्वको प्रमाण खोजिरहेको छ।
ओडिसीको दिशा नियन्त्रण गर्ने ह्वील बिग्रियो
पर्सिभरेन्समा समस्या देखिएको केही दिनपछि मंगलको अर्बिटमा रहेको ओडिसी अन्तरिक्षयानमा पनि खराबी आयो। नोभेम्बर ४ देखि ६ को बीचमा यसको एउटा रिएक्सन ह्वील (Reaction Wheel) घुम्न छाडेपछि यान सेफ मोडमा पुगेको थियो।
रिएक्सन ह्वील अन्तरिक्षयानको दिशा नियन्त्रण गर्ने उपकरण हो। यानभित्र रहेको यो पाङ्ग्राको गति घटबढ गरेर क्यामेरा, एन्टेना वा सोलार प्यानललाई आवश्यक दिशामा फर्काउन सकिन्छ। ओडिसीमा चारवटा रिएक्सन ह्वील थिए। एउटा सन् २०१३ मै बिग्रिएको थियो। अहिले अर्को पनि रोकिएपछि दुईवटा मात्रै काम गरिरहेका छन्। नियमित दिशा नियन्त्रणका लागि भने कम्तीमा तीनवटा आवश्यक पर्छन्।
त्यसैले अहिले ओडिसीले हाइड्राजिन (Hydrazine) इन्धनबाट चल्ने साना रकेट इन्जिन अर्थात् थ्रस्टर (Thruster) को सहायता लिनुपरेको छ। तर यसरी दिशा नियन्त्रण गर्दा सीमित इन्धन खर्च हुन्छ। नासाको प्रारम्भिक अनुमानअनुसार थ्रस्टरमा मात्रै निर्भर रहनुपरे बाँकी इन्धन एकदेखि दुई महिनासम्म पुग्न सक्छ।
यद्यपि, परीक्षणका क्रममा बिग्रिएको ह्वीलले पृथ्वीबाट पठाइएको कमान्डको प्रतिक्रिया दिएको छ। त्यसैले इन्जिनियरहरू त्यसलाई फेरि सञ्चालन गर्ने प्रयासमा छन्। सफल भए नोभेम्बरको अन्तिम सातासम्म वैज्ञानिक अध्ययन र सञ्चार सेवा फर्काउने लक्ष्य छ।
मंगलको अध्ययनमा किन महत्त्वपूर्ण छन्?
सन् २००१ मा मंगलको अर्बिटमा पुगेको ओडिसी त्यहाँ सबैभन्दा लामो समय सञ्चालन भएको अन्तरिक्षयान हो। यसले मंगलको सतह र जमिनमुनि पानीको बरफ हुन सक्ने क्षेत्र पहिचान गर्न महत्त्वपूर्ण योगदान दिएको छ। साथै, मंगलको सतहमा रहेका रोभरले पठाएको डेटा पृथ्वीसम्म पुर्याउने सञ्चार सञ्जालको पनि एउटा महत्त्वपूर्ण हिस्सा हो। ओडिसीको सेवा रोकिँदा मंगलबाट डेटा प्राप्त गर्ने सञ्जालको क्षमता प्रभावित हुन सक्छ। पर्सिभरेन्सको समस्या भने मुख्यतः सञ्चार र वैज्ञानिक अध्ययनसँग सम्बन्धित छ। दुवै यानमा समस्या देखिए पनि नासाले तिनलाई गुमाएको छैन। अहिले इन्जिनियरहरूको प्राथमिकता खराबी पत्ता लगाउने, यानहरूलाई सुरक्षित राख्ने र नियमित सञ्चार तथा वैज्ञानिक अध्ययन पुनः सुरु गर्ने रहेको छ।
स्रोत : NASA, १९ नोभेम्बर २०२६।
Views 172
Keywords मंगल ग्रह, नासा, पर्सिभरेन्स रोभर, मार्स ओडिसी, मंगल ग्रहमा प्राविधिक समस्या, NASA Mars Missions, Perseverance Rover, Mars Odyssey
More News

चीनको स्पेस स्टेसन विदेशीलाई खुला, बुधबार पाकिस्तानी अन्तरिक्षयात्री जाने
काठमाडौं, ८ मंसिर। चीनले पहिलोपटक आफ्नो अन्तरिक्ष स्टेसनमा विदेशी अन्तरिक्षयात्री पठाउने भएको छ। बुधबार प्रक्षेपण हुने सेनझोउ…

मंगलबार नेपालको आकाशमा सुपरमुन
काठमाडौं, ७ मंसिर। मंगलबार, ८ मंसिरमा नेपालको आकाशमा सुपरमुन (Supermoon) देखिने छ। चन्द्रमा पृथ्वीको तुलनात्मक रूपमा नजिक रहे…

नेपालमा एल निनोको प्रभाव: वर्षा र हिमपात बढ्ने
एल निनोको प्रभावले विश्वका कतिपय क्षेत्रमा खडेरीको जोखिम बढाइरहेका बेला नेपालमा भने यस वर्षको हिउँदमा सामान्यभन्दा बढी वर्षा …

आठ वर्षको यात्रापछि बेपिकोलोम्बो बुधको अर्बिटमा
दुई यानले बुधको सतह, भित्री बनावट र चुम्बकीय क्षेत्र अध्ययन गर्ने; मुख्य अध्ययन अप्रिल २०२७ बाट६ मंसिर, काठमाडौं । युरोप र जा…


Comments (0)
No comments yet. Be the first to join the discussion.
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.