वान लाइट डे टाढा पुगेको नेपाली आवाज

स्पेसक्राफ्ट भोइजर वानसँगै एउटा नेपाली आवाज धर्तीबाट ‘वान लाइट डे’ टाढा पुगेको छ। ४९ वर्षअघि दुर्गाप्रसाद ओझाले रेकर्ड गराएको शुभकामना सन्देश बोकेको यो यान अहिले झन्डै २६ अर्ब किलोमिटर टाढा छ।
नासाका अनुसार, भोइजर वान १८ नोभेम्बर २०२६ मा नेपाली समय दिउँसो ४ बजेर १ मिनेट ७ सेकेन्डमा यो दूरीमा पुग्यो। यो धर्तीबाट वान लाइट डे टाढा पुग्ने पहिलो मानव निर्मित वस्तु बनेको छ।
वान लाइट डे भनेको प्रकाशले २४ घण्टामा पार गर्ने दूरी हो। प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटर यात्रा गर्छ। चन्द्रमाबाट धर्तीमा आइपुग्न प्रकाशलाई औसत १.३ सेकेन्ड लाग्छ। सूर्यबाट भने करिब आठ मिनेट २० सेकेन्ड। भोइजर वानसम्म पुग्न अब त्यही प्रकाश वा रेडियो सङ्केतलाई पूरा २४ घण्टा लाग्छ।
भोइजरलाई यति टाढा पुग्न ४९ वर्ष लाग्यो। त्यससँगै यात्रामा रहेको नेपाली आवाजको कथा पनि सन् १९७७ बाट सुरु हुन्छ।
त्यतिबेला दुर्गाप्रसाद अमेरिकाको न्युयोर्क इथाकास्थित कर्नेल युनिभर्सिटीमा पीएचडी गरिरहनुभएको थियो। उहाँकी पत्नी डा. बिमला ओझा पनि सँगै हुनुहुन्थ्यो। त्यही युनिभर्सिटीमा खगोलविद् तथा साइन्स कम्युनिकेटर कार्ल सेगन कार्यरत हुनुहुन्थ्यो।
नासाले सेगनको नेतृत्वमा रहेको टोलीलाई भोइजरसँगै धर्तीको परिचय दिने सामग्री तयार पार्ने जिम्मेवारी दिएको थियो। अन्तरिक्षको यात्रामा कसैले यान भेटेमा त्यसबाट धर्ती र यहाँको जीवनबारे केही बुझ्न सकोस् भन्ने उद्देश्य थियो। टोलीले विभिन्न भाषाका शुभकामना, सङ्गीत, प्राकृतिक आवाज र तस्बिर सङ्कलन गर्यो। विभिन्न भाषा बोल्ने धेरै व्यक्ति कर्नेल युनिभर्सिटी र आसपासकै समुदायबाट जुटाइएका थिए।
नेपालीमा शुभकामना रेकर्ड गराउने अवसर दुर्गाप्रसादले पाउनुभयो।
“अनि पहिले त युनिभर्सिटीभित्रकै मान्छे खोज्यो विभिन्न भाषा बोल्ने। अनि त्यसमाथि नेपाली बोल्नेमा उहाँलाई लगेको,” बिमला सम्झनुहुन्छ।
दुर्गाप्रसाद अस्वस्थ हुनुभएकाले हामीले उहाँसँग यस विषयमा कुराकानी गर्न सकेनौँ। बिमलाले भने अमेरिकामा सँगै बिताएका ती दिन र सन्देश रेकर्डिङसँग जोडिएका केही प्रसङ्ग सुनाउनुभयो।
उहाँका अनुसार, त्यतिबेला कर्नेलमा नेपाली बोल्ने अरू व्यक्ति पनि थिए। तर दुर्गाप्रसादलाई नै किन छानियो भन्ने उहाँलाई थाहा छैन। रेकर्डिङको ठ्याक्कै दिन पनि सम्झनुहुन्न।
रेकर्डिङ सकेर फर्किएपछि भने दुर्गाप्रसादले उहाँलाई यसबारे सुनाउनुभएको थियो।
“रेकर्डिङको दिन याद छैन मलाई। उहाँले आएर भन्नुभयो, आज यस्तो यस्तो मेसेज रेकर्ड गराएर आएँ। नासामा पठाएर भोइजरमा पठाउने रे भनेर भन्नुभयो,” बिमला भन्नुहुन्छ।
त्यही आवाज सुनको जलप लगाइएको तामाको डिस्कमा राखियो। ‘गोल्डेन रेकर्ड’ भनिने यस्तो डिस्क भोइजर वान र भोइजर टु दुवैमा एक–एकवटा छन्। तिनमा धर्तीका आवाज र तस्बिरसँगै नेपालीसहित ५५ भाषाका शुभकामना सन्देश समेटिएका छन्। नेपाली सन्देशले धर्तीवासीका तर्फबाट शान्तिमय भविष्यको शुभकामना दिन्छ।
यो सन्देश बोकेको भोइजर वान ५ सेप्टेम्बर १९७७ मा प्रक्षेपण भयो। यसको प्रारम्भिक काम बृहस्पति र शनिको नजिक पुगेर ती ग्रह तथा तिनका चन्द्रमाको अध्ययन गर्नु थियो। ती अध्ययनपछि पनि यानको यात्रा रोकिएन। सन् २०१२ को अगस्टमा यो इन्टरस्टेलर स्पेस अर्थात् ताराहरूबीचको अन्तरिक्षमा पुग्यो।
यता, दुर्गाप्रसाद पीएचडी सकेर नेपाल फर्किनुभयो। उहाँ अध्यापन र अनुसन्धानमा संलग्न हुनुभयो। बिमलाले मेडिकल प्राक्टिसलाई निरन्तरता दिनुभयो।
उता, उहाँको आवाज बोकेको यान धर्तीबाट अझ टाढा गइरह्यो। अहिले पनि भोइजर वानसँग नासाको सम्पर्क छ। ऊर्जा घट्दै गएपछि वैज्ञानिक उपकरणलाई लामो समय चलाउन इन्जिनियरहरूले बिजुली बचाउने उपाय अपनाइरहेका छन्।
झन्डै पाँच दशकपछि त्यो प्रसङ्ग सम्झँदा बिमलालाई कार्ल सेगनले विज्ञान बुझाउने शैली पनि याद आउँछ। उहाँ कठिन विषयलाई समेत कथा सुनाएजस्तै गरी बुझाउनुहुन्थ्यो। बिमलालाई उहाँका लेक्चर निकै मन पर्थे।
अहिले भने त्यतिबेला भोइजर र सन्देश रेकर्डिङबारे अझ धेरै बुझ्नुपर्ने रहेछ भन्ने लाग्छ।
“भोइजरको बारेमा पनि अलि धेरै जानु पर्ने रहेछ जस्तो लाग्यो के,” उहाँ भन्नुहुन्छ।
सेगन लोकप्रिय र मिलनसार भएकाले समय मिलाएर सोधेको भए उहाँले थप कुरा बताइदिनुहुन्थ्यो होला भन्ने बिमलालाई लाग्छ।
भोइजर वानको यो उपलब्धि भने उहाँका लागि परिवारसँग जोडिएको सम्झनाभन्दा धेरै ठूलो छ। उहाँ यसलाई समस्त मानव जातिकै गर्वको क्षण मान्नुहुन्छ।
“इट्स अ प्राउड मोमेन्ट होइन र सबै जनाको लागि?” उहाँ भन्नुहुन्छ।
४९ वर्षअघि एक नेपाली विद्यार्थीले रेकर्ड गराएको छोटो शुभकामना आज धर्तीबाट प्रकाशलाई पनि पुग्न पूरा दिन लाग्ने दूरीमा छ। दुर्गाप्रसाद ओझाको आवाज गोल्डेन रेकर्डमा सुरक्षित छ।
त्यो रेकर्ड बोकेको यानको यात्रा जारी छ।
Watch
Views 180
Keywords भोइजर वान, Voyager 1, दुर्गाप्रसाद ओझा, Durga Prasad Ojha, अन्तरिक्षमा नेपाली आवाज, Nepali Voice in Space, नेपाली शुभकामना सन्देश, भोइजर गोल्डेन रेकर्ड, Voyager Golden Record, वान लाइट डे, One Light Day, डा. बिमला ओझा, NASA, कार्ल सेगन, कर्नेल युनिभर्सिटी, खगोल विज्ञान, Dark Sky Nepal
More News

चीनको स्पेस स्टेसन विदेशीलाई खुला, बुधबार पाकिस्तानी अन्तरिक्षयात्री जाने
काठमाडौं, ८ मंसिर। चीनले पहिलोपटक आफ्नो अन्तरिक्ष स्टेसनमा विदेशी अन्तरिक्षयात्री पठाउने भएको छ। बुधबार प्रक्षेपण हुने सेनझोउ…

मंगलबार नेपालको आकाशमा सुपरमुन
काठमाडौं, ७ मंसिर। मंगलबार, ८ मंसिरमा नेपालको आकाशमा सुपरमुन (Supermoon) देखिने छ। चन्द्रमा पृथ्वीको तुलनात्मक रूपमा नजिक रहे…

मंगलमा नासाका दुई यानमा समस्या, वैज्ञानिक अध्ययन रोकियो
मंगल ग्रहमा वैज्ञानिक अध्ययन गर्दै आएका दुई वटा स्पेशक्राफ्टमा समस्या देखिएको छ। पर्सिभरेन्स रोभरका दुईवटै रेडियोमा समस्या दे…

नेपालमा एल निनोको प्रभाव: वर्षा र हिमपात बढ्ने
एल निनोको प्रभावले विश्वका कतिपय क्षेत्रमा खडेरीको जोखिम बढाइरहेका बेला नेपालमा भने यस वर्षको हिउँदमा सामान्यभन्दा बढी वर्षा …


Comments (0)
No comments yet. Be the first to join the discussion.
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.