खगोल विज्ञान र अन्तरिक्ष इतिहासमा आज : भोयजर–२ शनिको सबैभन्दा नजिक पुगेको दिन
सन्
१९८१ अगस्ट २६ मा नासाको भोयजर–२ (Voyager 2) अन्तरिक्षयान शनि ग्रहको
सबैभन्दा नजिक पुगेको थियो। त्यति बेला यान शनिको क्लाउड टप्स (वायुमण्डलमा
देखिने बादलको माथिल्लो तह) बाट करिब ४१ हजार किलोमिटमाथिबाट गुज्रिएको
थियो।
भोयजर–२ ले शनिको वायुमण्डल, रिङ र उपग्रहहरूको विस्तृत अध्ययन गर्यो।
यसले रिङभित्रका जटिल संरचना, धर्साजस्ता देखिने ‘स्पोक’ र रिङका कणलाई
व्यवस्थित राख्न सहयोग गर्ने साना उपग्रहहरूको तस्बिर पठायो। शनिसँगको
भेटका क्रममा यानले करिब १६ हजार तस्बिर खिचेको थियो।
यानले
शनिको बरफले ढाकिएको उपग्रह एन्सेलाडस (Enceladus) मा पुराना
खाल्डाखुल्डीसँगै तुलनात्मक रूपमा चिल्लो र नयाँ सतह पनि देख्यो। यसबाट
त्यहाँ भूगर्भीय गतिविधि (जियोलोजिकल एक्टिभिटी) भइरहेको हुन सक्ने
प्रारम्भिक संकेत प्राप्त भएको थियो। पछि क्यासिनी अन्तरिक्षयानले
एन्सेलाडसको सतहमुनि समुद्र रहेको र त्यहाँबाट पानी तथा बरफका कण
अन्तरिक्षमा निस्किरहेको पत्ता लगायो।
शनिको
गुरुत्वाकर्षणको सहायता लिएर भोयजर–२ त्यसपछि युरेनसतर्फ अघि बढ्यो।
बृहस्पति, शनि, युरेनस र नेप्च्युन, सौर्यमण्डलका चारै विशाल ग्रहलाई
नजिकबाट अध्ययन गर्ने यो अहिलेसम्मको एक मात्र अन्तरिक्षयान हो।
सन्
१९७७ मा पृथ्वीबाट प्रक्षेपण गरिएको भोयजर–२ सन् २०१८ मा ताराबीचको
अन्तरिक्ष (इन्टरस्टेलर स्पेस) मा प्रवेश गरेको थियो। आज पनि यसले
पृथ्वीबाट अर्बौँ किलोमिटर टाढाको आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ।
स्रोत : नासा
फोटो: भोयजर–२
अन्तरिक्षयानले सन् १९८१ मा खिचेको शनि ग्रह। तस्बिरमा शनिको रिङसँगै यसका
उपग्रह रिया र डायोन पनि देखिन्छन्। NASA/JPL

Comments (0)
No comments yet. Be the first to join the discussion.
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.